
काठमाण्डु, २८ फागुन- उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिको अन्तिम नामावलीमा शनिबार आयोगमा उम्मेदवारी दिएका चारै जना उम्मेदवारहरू समावेश छन् ।जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिएका दुवै उम्मेदवारलाई कायम राख्ने भएसँगै ४ जना उम्मेदवार हुने भएका हुन् ।
जसमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जसपा नेपालबाट प्रमिला कुमारी र रामसहाय प्रसाद यादव रहेका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारीविरुद्ध शनिबार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए ।
तर आयोगले आइतबार विहानै यादवको उम्मेदवारी पनि कायम रहने निर्णय गरिसकेको थियो । उपराष्ट्रपति निर्वाचन आगामी चैत ३ गते हुने छ।