
काठमाण्डु,२७ फागुन– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्तारुढ गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताएका छन ।
आज (शनिबार) जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । सो क्रममा संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन । उनले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्ने समझदारी भएको पनि बताएका छन ।
उनले भने, ‘गठबन्धनकै निर्णय अनुसार तीनवटा उम्मेदवार मनोनयन गर्ने र पछिसम्म छलफल जारी राख्ने भन्ने कुरा आएको छ’ ‘‘गठबन्धनमा कुरा मिल्नसक्छ । भोलिसम्म समय छ । मलाई पूरा विश्वास छ हाम्रो साझा उम्मेदवार हुनुहुन्छ, ममताजीकै पक्षमा निर्णय हुनेछ ।’ निर्वाचन आयोगले पनि उपराष्ट्रपतिमा महिला उम्मेदवार नै हुनुपर्ने आशय व्यक्त गरेको भन्दै राउतले आफूहरुको उम्मेदवारमा सहमति नजुटे मित्रवत प्रतिस्पर्धा गर्ने बताएका छन । उनले भने, ‘हाम्रो उम्मेदवार सशक्त हुनुहुन्छ ।
संविधानको रक्षाको लागि तत्पर हुनुहुन्छ । कानूनी पृष्ठभूमिबाट हुनुहुन्छ । उहाँ योग्य हुनुहुन्छ हरेक दृष्टिकोणबाट । त्यही भएर उहाँले जित्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ ।
हाम्रो बटमलाइन भनेको मित्रवत प्रतिस्पर्धा हुन्छ’ । जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् । उनले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै मधेशी महिलाको तर्फबाट आफूले उम्मेदवारी दिएको बताइन् ।