
काठमाण्डु,२७ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन ।
आज (शनिबार) दिउँसो पार्टी मुख्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताएका छन ।
उनले भने, ‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन’ ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।’
प्रचण्डले माओवादी धाराका कम्युनिष्ट घटकबीच समाजवादी मोर्चा बनाउने विषयमा छलफल भइरहेको पनि बताएका छन । उनले भने, ‘माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको छ। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ। भोलि संयुक्त अपिल गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ। केही दिनमा समाजवादी मोर्चा बन्छ।’
उनले भने, ‘संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त छन् । चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ। नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ। बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ’ ।
उनले समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने बताएका छन । उनले एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा रहेको भएपनि त्यस पार्टीभित्र रहेको अधिकांश नेता कार्यकर्ताहरु पार्टी एकताकै पक्षमा रहेको बताएका छन ।
उनले भने, ‘एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा छ नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन् ।’ प्रधानमन्त्रीले त्यो प्रवृत्तिलाई पराजित गर्दै फेरि एकताका निम्ति बहस गर्ने बेला आएको बताएका छन ।