
उदयपुर,२७ फागुन– उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।
मूत्यु हुनेमा रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगर रहेका छन । शुक्रबार साँझ भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको प्रहरीले् बताएको छ ।
रामबहादुरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा दुई छोराछोरीको मृत्यु भएको स्थानीय टेकराज रिखाम मगरले जानकारी दिएका छन ।
‘हामी दुवै जना सडक निर्माणका लागि गएका थियौँ, घरमा अभिभावक कोही नभएको बेला आगलागी भएको हो’ , मृतकका बुबा रामबहादुर मगरले भने ।
स्थानीय शिक्षक गौरवबहादुर मगरका अनुसार घटना भएलगत्तै दुवै जनाको बेहोस भएका थिए । उनीहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालयको टोली र इलाका प्रहरी कार्यालय भुट्टारको टोली घटनास्थल पुगेर घटनाका विषयमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
घटनामा मानवीय क्षतिसँगै घरमा भएका सबै सामग्री जलेर नष्ट भएका छन् । आगलागीमा मगरको अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जल्दा करिब रू १० लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ।
आगो स्थानीय र प्रहरीले साँझ ६ बजे नियन्त्रणमा लिएको थियो । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।