
काठमाण्डु,२७ फागुन– पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएको बताएका छन ।
आज (शनिबार) जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा ०६३ साल ५ मंसिरमा भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका छन ।
उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताएका छन ।
उनले भने,‘ यो मुद्दाको कुरा ०६३ साल ५ मंसिरमा नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ,’ त्यहाँ स्पष्ट भनिएको छ, यी विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ । त्यसले काम पनि शुरुवात गरिरहेको छ ।’
सापकोटाले अन्य तरिकाले शान्ति प्रक्रियाको मर्म, भावना, संक्रमणकालीन न्यायको पद्धति, प्रक्रिया विपरीत जाँदा शान्ति प्रक्रियालाई असर पुर्याउने पनि बताएका छन ।