
काठमाण्डु,२७ फागुन– सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपति पदमा साझा उम्मेदवार बनाउने विषयमा सहमति जुटाउन असमर्थ भएको छ ।
आज (शनिबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएपनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिएका छन । सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको राउतले जानकारी दिएका छन ।
जनमतले एकजना र जसपाले दुईजना उम्मेदवारको मनोनयन दर्ता गराउने तयारी भएको राउते बताएका छन । उनले भने, ‘निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिला ने हुनुपर्ने निर्णय गरेपछि हामीबीच सकेसम्म महिला नै उठाउनेबारे छलफल भएको छ । यसमा रिस्क नलिने दलहरुबीच कुरा भएको हो ।
किनभने आयोगले संविधानको धारा ३८ (४) लाई कोट नै गरेको छ । जसमा महिलालाई पनि समावेशी समानुपातिक गर्नुपर्ने भनेको छ । त्यही भएर राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला नै बनाउने जिम्मेवारी हुन्छ ।’ राउतले जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको बताउँदै उनले नै उम्मेदवारी दर्ता गराउने बताएका छन ।
जसपाले भने पुरुष र महिला गरी दुई जनाको आज उम्मेदवारी दर्ता गर्ने तयारी गरेको उनले पनि उनले बताएका छन । उनले यसबारे भोलिसम्म सहमति जुटाएर एक जना साझा उम्मेदवार बनाइने बताएका छन । उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन जसपाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।