
काठमाण्डु,२७ फागुन–सत्तारुढ दस दलिय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ । आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको १० दलको बैठकले जसपाबाट दुई जना पुरुष र महिला उम्मेदवार दर्ता गर्ने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनमा रहेको जनमत पार्टीले महिला उम्मेदवार मतता झालाई उठाउने भएको छ । नेकपा एकीकृत समाजवादीका महासचिव देवुराम भुसाल भने, ‘अहिले ३ जनाको उम्मेदवारी दर्ता हुन्छ ।
अरु भोलि फेरि छलफल गरेर टुंगो लगाउँछौं ।’ सत्तारुढ चार दल कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी बीच उपराष्ट्रपति जसपाले लिने सहमति भइसकेको छ । त्यसअनुसार संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय पनि जसपाले गरेको थियो ।
तर निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने बताएको छ । यसअनुसार खासआर्य बाहेकका समुदायका पुरुष पनि उम्मेदवार हुनसक्ने सत्तारुढ नेताहरुको तर्क छ । तर निर्वाचन आयोगले संविधानको धारा ३८ (४) पनि उल्लेख गरेको छ, जसमा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ ।
यसले जसपा अफ्ठ्यारोमा परेको छ । त्यसैले जसपाबाट महिला र पुरुष दुवै उम्मेदवार बनाउने निर्णय भएको एक नेताले जानकारी दिएका छन । स्रोतका अनुसार जसपाले पुरुषमा रामसहाय यादवलाई नै उम्मेदवार बनाउनेछ भने महिलामा प्रमिला यादवलाई अघि सार्ने सम्भावना छ ।