
काठमाण्डु,२६ फागुन– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पुरुष राष्ट्रपति भइसकेपछि उपराष्ट्रपतिमा महिला नै हुनु पर्छ भन्ने नभएको बताएका छन ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनु पर्छ भनेको खबर आफूले पढेको भन्दै खड्काले त्यो भनाइ संविधान अनुकुल नरहेको बताएका छन । आज शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा पत्रकारसित कुरा गर्दै उनले यस्तो बताएका हुन ।
खड्काले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरीत अभिव्यक्ति दिएको पनि बताएका छन । उनले नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै खड्काले एउटै समुदायको पुरुष राष्ट्रपति उपराष्ट्रपति दुवै हुन सक्दैन भनेर मात्रै संविधानमा व्यवस्था भएको बताएका छन ।
उनले भने, ‘फरक लिङ्ग वा फरक समुदायको राष्ट्रपतिरउपराष्ट्रपति हुनुपर्छ भनेर संवैधानिक जे व्यवस्था छ, त्यो व्यवस्थाको विपरीत निर्वाचन आयोगले निर्णय गरेको छ,’ अनलाइनहरुमा हेरेँ, प्रमुख आयुक्तले बोल्नुभयो भन्ने खबर आएको छ । उहाँले गरेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल छैन ।’
उनले राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा कार्यदलको बैठक बताएका छन । उनले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन सहयोग गर्ने दल, कर्मचारी, निर्वाचन आयोग र सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको बताएका छन ।