प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाण्डु टुडे २०७९ फागुन २६ गते १५:३५ मा प्रकाशित

काठमाण्डु,२६ फागुन– सरकारले प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

आज (शुक्रबार) बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर रहेका छन् ।

दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन ।भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरु एआईजीमा बढुवा भएका हुन् । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् ।

त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट हुनेछ । यद्यपि, अहिलेका महानिरीक्षक सिंहले ३० वर्षे सेवा अवधि हटाएर जागिर लम्ब्याउन लबइङमा रहेका छन । उनको यही प्रयासका कारण ५ एआईजीको दरबन्दी रिक्त हुँदाहुँदै पनि बढुवा भएको थिएन ।

स्रोतका अनुसार महानिरीक्षक सिंहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणामार्फत सेवा अवधि हटाउन लबिइङ गरिरहेका छन् । यसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहमत रहेको स्रोतले बताएको छ ।

आईजीपी सिंहको यो प्रयासपछि भावी आईजीपीका लागि प्रतिक्षारत अधिकृतहरु सशंकित रहेका छन । आईजीपीका बलिया प्रतिष्पर्धी मानिएका अशोक सिंहले नागरिकता विवादबीच राजीनामा दिएपछि भएको बढुवामा अधिकृतहरु डीआईजीकै वरियता अनुसार एआईजी बढुवामा सिफारिस भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us