
काठमाण्डु,२६ फागुन– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन । राष्ट्रपतिमा निर्वाचित भएपछि आज शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए हुन ।
उनले भने, ‘प्रकृतिलाई सम्झेर सुशासनको कुरामा सबैको ध्यान आकर्षित गर्न चाहन्छु । नेपालमा संविधानको दायित्व र जनताले पाएको अधिकारको रक्षा र यसमा कसैले खेलवाड गर्न दिनुहुँदैन।’
उनले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताएका छन । उनले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक भएको पनि बताएका छन ।
उनले भने, ‘जनताको हातमा सम्पूर्ण सत्ता ल्याउनको लागि बीपी कोइराला लगायतका नेताहरुले जुन बलिदान गरे । जसरी देशलाई नयाँ दिशा देखाए । आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो । देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई हामीले जर्गेना गर्नुपर्छ ।’
उनले समावेशी लोकतन्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्ने पनि बताएका छन । राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने बताएका छन । राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक भएको बतानएका छन ।