जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैन: उपसभापति खड्का

काठमाण्डु टुडे २०७९ फागुन २६ गते १३:२५ मा प्रकाशित

काठमाण्डु,२६ फागुन– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन ।

आज ढशुक्रबारण ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शनपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले अब छिटै नै गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने पनि बताएका छन ।

उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताएका छन । उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले त्यसको संयोजन गर्नुहुनेछ। सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ । ’

‘दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ। जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ।’ उनले पदको लोभका कारण १० पुसमा गते कांग्रेससहितको गठबन्धन भत्किएको पनि बताएका छन।

उनले नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किएपनि आन्तरिक रुपमा सच्याएर अघि बढेको बताएका छन ।

उनले १० पुसपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सुक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीवार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको बताएका छन ।

खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन । उनले अब छिटै नै गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने पनि बताएका छन ।

उनले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह गरे । उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहार्‍याउने बताएका छन । उनले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको विस्तार हुने बताए ।

उनले उपराष्ट्रपतिको निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार बिस्तार हुने बताएका छन । उनले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा बन्ने र कांग्रेस पनि सरकारमा सहभागी हुने बताएका छन ।उनले भने, ‘सरकारको बारेमा हामीले छलफल प्रारम्भ गरेका छैनौँ ।

प्रधानमन्त्रीजीले भन्नुभएको छ, उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको कुरा हुन्छ । अहिले हामी उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिएको केही दिनभित्र नै सरकार बिस्तारको कुरा हुन्छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सरकार अघि बढ्छ । कांग्रेस सहभागी हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us