माओवादी घटकको निर्णयः २८ गते पत्रकार सम्मेलन, ३० गते अन्तरक्रिया

काठमाण्डु टुडे २०७९ फागुन २६ गते १०:४१ मा प्रकाशित

काठमाण्डु, २६ फागुन– विभिन्न माओवादी घटकले २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बसेको ८ माओवादी घटकको बैठकले उक्त निर्णय गरेको हो । द्वन्द्वकालीन घटनालाई लिएर प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सवोच्च अदालतमा रिट दर्ता भएकामा सबै माओवादी घटकले आपत्ति जनाउँदै आएका छन् ।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बैठकले २८ गते पत्रकार सम्मेलन र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय भएको जानकारी दिए । बस्नेतका अनुसार अन्तरक्रियामा तत्कालीन विद्रोही माओवादी र राज्यपक्षका बीचमा भएका वार्ताका सहजकर्ता, नागरिक अगुवा, कानुन व्यवसायी र सञ्चारकर्मी सहभागी हुनेछन् ।

बैठकमा सहभागी क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दाको टुंगो नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्नेमा आफूहरुको समान मत रहेको बताए ।

यसअघि २३ फागुनमा बसेको माओवादी घटकका नेताहरुको बैठकले शान्ति प्रक्रियाविरोधी क्रियाकलापको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us