राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाण्डु टुडे २०७९ फागुन २४ गते ११:१७ मा प्रकाशित

काठमाण्डु,२४ फागुन– आज बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै छ ।

आज बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ । राष्ट्रपति पदको निर्वाचन २५ फागुनमा हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट पूर्व सभामुख एवं कांग्रेस रामचन्द्र पौडेल र पूर्व सभामुख एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन । राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।

राप्रपामा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने आवाज उठेको छ । तटस्थ बस्नुपर्छ भन्ने पक्षमा ज्ञानेन्द्र शाही लगायतका नेताहरु रहेका छन । तर शाहीले यसबारे प्रतिक्रिया दिन मानेनन् । अर्का एक नेताले भने अधिकांश नेताहरु तटस्थ बस्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन ।

यद्यपि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु भने कुनै एक उम्मेदवारलाई मत दिनुपर्छ भन्ने पक्षमा रहेका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा लिङ्देनको नेतृत्वमा सहभागी भएको थियो । तर सत्ता समीकरणमा फेरबदल आएपछि राप्रपाले सरकारबाट बाहिरिंदै समर्थन पनि फिर्ता लिएको थियो ।

एमालेको समेत समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्ड राष्ट्रपतिको उम्मेदवार कांग्रेसलाई दिनुपर्ने पक्षमा उभिएपछि राप्रपाले फागुन १३ गते सरकार छाडेको थियो । राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङ दुवैले हालै राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरुलाई भेटेर भोट मागेका थिए ।

तर अहिलेसम्म राप्रपाका नेताहरु कतै खुलेका छैनन् । संघीय संसदमा राप्रपाका १४ र प्रदेश सभामा २८ सांसद छन् । राष्ट्रपति निर्वाचनमा उसको कूल मतभार २ हजार ४५० छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us