
काठमाण्डु,२३ फागुन– पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन रघुराज वन्त सम्मानित भएका छन् ।
२४ वर्षको उमेरमा मिस्टर काठमाण्डु बनेका उनी राष्ट्रिय च्याम्पियन स्प्रिन्टर, नेपाल एमेच्योर एथलेटिक्स संघका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटीका महासचिव अनि ओलम्पियन रघुराज वन्तका थुप्रै आयामहरु रहेका छन ।
यिनै आयामलाई कदर गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो । आज मंगलबार काठमाण्डुको कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहका बीच लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरीएको हो ।
नेपाली खेलकुदमा उनी खेलाडीको भूमिका देखि प्रशिक्षक बन्दै संघ, परिषद ओलम्पिकक कमिटीको पदाधिकारसम्म बनेका थिए । उनले खेलाडीका रुपमा ओलम्पिक सम्मको उच्चतम यात्रा तय गरे, प्रशिक्षकका रुपमा उत्कृष्ट खेलाडीहरु उत्पादन गरेका छन ।पदाधिकारीका रुपमा एथलेटिक्स संघ हाँके अनि राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिव सम्म हुने नेपाली खेलकुदमा यस्तो दोस्रो पात्र छैनन् ।
बुबा गणेशराज वन्त नर शमशेरको पालाका नामुद फुटबल खेलाडी थिए । बुबा, बाजे दरबारमा काम गर्ने । शहिद धर्मभक्त माथेमा आफ्नै फुपूको छोरा । अनी रघुराज वन्तलाई पनि के नै कमी भयो र । शारिरीक सुगठनका शौखिन उनी २४ वर्षमा मिस्टर काठमाण्डु बनेका थिए ।
उनले फुटबल, रक क्लाम्विङ, हक्की, टेबल टेनिस र बक्सिङ खेलेका छन् भने कायाकिङका त पहिलो ब्याचका खेलाडी नै हुन् । उनको प्रिय खेल भने एथलेटिक्स र त्यसमा उनको विधा १०० मिटर प्रिन्ट । १०० मिटरमा एकछत्र राज गरेका उनी ७ वर्ष लगातार च्याम्पियन भएका थिए ।