
काठमाण्डु, २१ फागुन– सरकारले भारतलाई उत्तरी छिमेकी चीनको सीमा जोडिएको मुस्ताङमा बौद्ध विश्वविद्यालय स्थापनाका लागि अनुमति दिएर चीनविरोधी गतिविधि गरेको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपको प्रतिवाद गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले आइतबार विज्ञप्ति जारी गर्र्दै ओलीको भनाइमा आपत्ति जनाएकी हुन् । विज्ञप्तिमा ओलीको भनाइ भ्रमपूर्ण रहेको उल्लेख छ । शर्माले ओलीको भनाइ भनी सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
शनिबार आयोजित एक कार्यक्रममा ओलीले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले भारतलाई विश्वविद्यालय खोल्न अनुमति दिएर चीनविरुद्ध गद्धारी गरेको आरोप लगाएका थिए । तर, सरकारी प्रवक्ताले जारी गरेको विज्ञप्तिमा त्यस्तो अनुमति सरकारका तर्फबाट नदिइएको बताइन् । ‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’
तर, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले क्याम्पस स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासलाई पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो त्यसको अध्ययन र आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने सरकारले स्पष्ट पारेको छ । मन्त्री शर्माले प्रधानमन्त्री र सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रुपमा श्रृंखलाबद्ध आरोप लगाइनु दुःखद रहेको भन्दै परराष्ट्र नीतिमाथि आँच पुर्योउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त नभएको जनाइएको छ ।
मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल सरकार दृढ रुपमा उभिएको मन्त्री शर्माले उल्लेख गरिन् । ‘नेपाल निरन्तर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यस्ता भ्रमपूर्ण अभिव्यक्तिहरुबाट भ्रमित नहुनसमेत सञ्चार माध्यम र आमजनसमुदायमा हार्दिक अपील गर्दछौं ।’