केपी ओलीले संसद विघटन ठीक भनेपछि नयाँ विकल्प खोज्यौं: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ फागुन १८ गते १७:१७ मा प्रकाशित

काठमाण्डु,१८ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूहरूले नयाँ विकल्प खोजेको बताएका छन ।

आज (बिहीबार) दिउँसो राष्ट्रपति निर्वाचनअघि बनेको आठ दलीय गठबन्धनमा आवद्ध दलका सांसदहरूको संयुक्त भेलालाई काठमाण्डुमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

उनले २६ पुसमा आफूले विश्वासको मत लिने दिन एमाले अध्यक्षले प्रतिनिधिसभा विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूलाई आशंका भएको पनि बताएका छन । उनले भने, ‘मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो। २६ पुसमा संसदमा केपीजीले हिजो संसद विघटन गर्नु ठीक थियो भन्नुभयो ।

हामी संसद विघटनको विपक्षमा थियौँ । हामी आफैंले त्यत्रो संघर्ष गरेर संसद फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ’ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा प्रभु शाहको आम आदमी पार्टी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको पनि समर्थन रहेको बताएका छन ।

उनले आफूले नेपाली कांग्रेससहित दलबाट विश्वासको मत पाएपछि कांग्रेस उम्मेदवारलाई राष्ट्रपति प्रस्ताव गर्न एमाले अध्यक्ष ओलीलाई भनेको तर उनले नमानेको प्रधानमन्त्री प्रचण्डले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us