
काठमाण्डु,१८ फागुन– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले नेकपा (माओवादी केन्द्र) स्थिर बसेर देशको विकास सम्भव नरहेको बताएका छन ।
आज (बिहीबार) कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकारसमेत रहेका उनले माओवादी स्थिर बसेर देशको विकास सम्भव नै नभएको बताएका हुन ।
उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आम मानिसहरूले माओवादी केन्द्र अस्थिर भएको भनिरहेपनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने बताएका छन । उनले माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरू अघि नबढ्ने पनि बताएका छन ।
उनले माओवादी केन्द्रले कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी गरिरहेको पनि बताएका छन । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने र बेपत्ताहरुको समस्या समाधान गर्ने पनि बताएका छन ।
उनले राजनीतिमा अहिले हरेक स्थानमा चुनौती रहेको भन्दै त्यसलाई चिरेर आफू अघि बढ्ने बताएका छन । उपमहासचिव गजुरेलले प्रधानमन्त्री प्रचण्डले पदका लागि सत्तामा नगएको पनि दाबी गरेका छन ।