
काठमाण्डु,१८ फागुन– चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० कालिका चोकमा एक युवती मृत फेला परेकी छिन् ।
भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी दिएको छ ।
उनी बस्दै आएको घरमा झुण्डिएको र उनका साथीहरुले पासो काटेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन । तीन जना युवतीले बस्नका लागि एक घरको फ्ल्याट भाडामा लिएर बस्दै आएको थिए ।
सो फ्ल्याटमा २ जना युवती र २ युवक बुधबार राति सँगसँगै बसेको र उनीहरुका बीचमा झैझगडा हुँदा एक युवती झुण्डिएको प्रहरीले जानकारी दिएको छ । घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
प्रहरी प्रवक्ता डीएसपी पण्डितले भने, ‘उनीहरुको अवस्था र बसाइँ हेर्दा राम्रो नियत र उद्देश्य जस्तो देखिंदैन, कोठाको अवस्था र प्रकृतिले पनि उनीहरुका गतिविधि शंकास्पद जस्तो देखिन्छ,’ ‘युवकले चक्कुले आफैलाई हान्न खोजेजस्तो पनि छ, रगत पनि बगेको देखिन्छ, तर मर्ने युवतीको भने कहि कतैं घाउचोट लागेको छैन ।’ झुण्डिएर मर्छु भनेर धम्काउने र स्टण्ट देखाउन खोज्दा घटना घटेको हो कि भन्ने आशंका गरिएको प्रहरीले बताएको छ ।