काठमाण्डु,१८ फागुन– राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीबारे कडा टिप्पणी गरेकी छन् । भण्डारीले नागरिकता विधेयक रोकेको स्मरण गर्दै उनले राष्ट्रपति भण्डारी एमालेको लागी मात्र राष्ट्रपति बनेको बताएकी छन ।
राष्ट्रियसभा उपाध्यक्ष भएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन । अर्यालले राष्ट्रपति, उपराष्ट्रपतिले सबैको अभिभावकीय भूमिका खेल्नुपर्ने पनि बताएकी छन । उनले नागरिकता विधेयक दुई–दुई पटक पठाउँदा पनि रोक्नु पीडादायक भएको बताएकी छन ।
राष्ट्रपति पार्टीभन्दा माथि उठ्नुपर्ने भन्दै अर्यालले भनिन्, ‘नयाँ हिसाबले सोचेर भनेर एकचोटी फर्काउनुभयो, ठीक छ । दोस्रो पटक आइसकेपछि उहाँ त संवैधानिक पदमा रहेको व्यक्ति हो नि ।
मैले यहाँ डिक्टेट गर्न मिल्छ त ? मिल्दैन नि ।’ उहाँ सधैं एमालेको मात्र राष्ट्रपति भइराख्नुभयो । त्यही विधेयक हुबहु अध्यादेशका रुपमा आएको बेला ओके गर्नुभयो ।
कानुन बनेर जाँदा रिजेक्ट गर्नु त भएन नि !’ उनले राष्ट्रियसभाको उपाध्यक्ष रहँदा आफ्नो भूमिका सन्तुलित हुन नसके सजग गराउन आग्रह गरेकी छन । आफूमाथि राष्ट्रियसभा अध्यक्ष भएकाले क्रस गरेर हस्तक्षेपकारी भूमिका नखेल्ने बताएकी छन ।