माधव नेपालसँग एमाले नेताहरुले मागे सुवास नेम्वाङलाई भोट

काठमाण्डु टुडे २०७९ फागुन १८ गते १३:०६ मा प्रकाशित

काठमाण्डु,१८ फागुन– एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार रहेका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत दिन एकीकृत समाजवादीलाई आग्रह  गरेका छन  ।

आज बिहिबार नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ एकीकृत समाजवादीको कार्यालय, आलोकनगर गएका थिए ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुलाई भेटेर एमाले नेताहरुले राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई मत दिन आग्रह गरेका थिए ।

एमाले नेताहरुले यो निर्वाचन दुई पार्टीको एकता अभियानलाई अगाडि बढाउन अवसर बन्न सक्ने बताएका थिए । सकारात्मक जवाफ पाएको भन्दै एमाले उपमहासचिव गुरुङले भने, ‘दुई पार्टीको एकता अभियानलाई अगाडि बढाउन जुन अवसर उपस्थित भएको छ, यसलाई अधिकतम रुपमा प्रयोग गर्नुपर्छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने यो भेटले सौहार्दपूर्ण सम्बन्ध विकास गर्ने आधार बनेको बताएका छन । तर कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक भएकाले तत्काल यसो गर्छौं भन्ने परिस्थिति नभएको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us