
काठमाण्डु, १७ फागुन– नेपाल आयल निगमले भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको जानकारी दिएको छ ।
जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेको र डिजेल तथा पेट्रोलको घटेर प्राप्त भएको निगमले बताएको छ । नयाँ मूल्यअनुसार निगमलाई डिजेलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको निगमले जानकारी दिएको छ ।
यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।
अन्य सबै प्रकारका इन्धनको लागत घट्दा खाना पकाउने ग्यासको लागत भने बढेको निगम स्रोतले बताएको छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।
पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा रहेको छ । निमगलाई गत आवको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमले बताएको छ ।