
काठमाण्डु,१७ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा आलील पूर्वसहकर्मी समेत रहेका वामपन्थी नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गरेका छन ।
आज (बुधबार) राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न गौतमकै निजी निवास भैंसेपाटी पुगेका ओलीले राष्ट्रपतिमा नेम्वाङलाई मत माग्नुका साथै एमालेमा फर्कन आग्रह गरेका छन ।
अध्यक्ष ओलीले गौतमसँग मत माग्दै भनेका थिए, ‘राष्ट्रपति निर्वाचनमा तपाईले भोट त सुवासलाई नै दिनुहुन्छ । यसमा अरु कुरै भएन, एमाले पार्टी पनि तपाईंकै हो, नेकपा एमाले तपाईले नै निर्माण गरेको पार्टी हो । तपाई अब पार्टीमा फर्कनुस् । ’
जवाफमा गौतमले एमालेमा राखिएको ७० वर्षे प्रावधान अवरोध रहेकाले त्यसलाई हटाउन अनुरोध गरेका थिए । ७० वर्षे उमेर हद जो राखिएको छ त्यो अवरोध नहटाई अघि बढ्न सकिँदैन ।
पहिला त्यो प्रावधान हटाउनुस् ।’ उनले भने, उहाँले म यो मिलाउँछु भन्नुभएको छ कति मिलाउनुहुन्छ त्यो हेर्न बाँकी छ ।’ एमालेको विधानअनुसार ७० बर्ष उमेर पुगेका कुनैपनि नेतालाई कार्यकारी पदमा रहन वा पार्टीको चुनाव लड्न निषेध गरिएको छ ।
तत्कालीन नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय उनी एमालेबाटै विद्रोह गरेका माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग पार्टी एकताका लागि संवदामा रहेका छन् ।