वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन: प्रचण्ड

काठमाण्डु टुडे २०७९ फागुन ९ गते ११:२७ मा प्रकाशित

काठमाण्डु,९ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास सम्भव नहुने बताएका छन ।

आज बालुवाटारस्थित निवासमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसहितको टोलीसँगको भेटमा प्रचण्डले वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएको बताएका छन । उनले भने, ‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन, नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन, अहिलेको युग नै विज्ञान र प्रविधिको हो ।

जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।’ उनले विज्ञान प्रविधिको विकासका लागि विद्यमान ऐनमा देखिएका समस्या समाधान गर्ने बताएका छन । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख पुनले विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी हुनुपर्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us