राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने

काठमाण्डु टुडे २०७९ फागुन ८ गते १७:२७ मा प्रकाशित

काठमाण्डु,८ फागुन– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार ०६८ सालको जनगणनाको आधारमा गरिने बताएका छन ।

आज (सोमबार) नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापनाका क्रममा उनले यस्तो बताएका हुन । उनले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभा सदस्यको मतभार कायम गरिने बताएका छन ।

उनले भने, ‘निर्वाचन आयोगलाई जनगणना सम्पन्न भइसकेपछि आधिकारिक रुपमा जनगणनाको नतिजा प्राप्त भइनसकेको हुनाले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भए बमोजिमको नै मतभारलाई आधार मानी यो निर्वाचन सम्पन्न गर्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु’ ।

थपलियाले २५ फागुनमा हुने निर्वाचनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा दुई वटा मतदान केन्द्र रहने जानकारी गराएका छन । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र व्यवस्था गरिएको जानकारी दिएका छन ।

हामीले दुईवटा मतदान केन्द्रको यहाँ व्यवस्था गरेका छौँ । प्रतिनिधि सभा सदस्यतर्फ र प्रदेश सभा सदस्यतर्फ । यसको अर्थ के हो भने प्रदेश सभा सदस्यको मतभार र संघीय संसदका सदस्यका मतभार फरकफरक हुने भएकाले दुईवटा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us