ठीक हुँदैछ चन्द्र भण्डारीको स्वास्थ्य

काठमाण्डु टुडे २०७९ फागुन ६ गते १४:५४ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ ।
उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । डा धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।

पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा ‘डिप इन्ज्यूरी’ रहेका कारण सोचेभन्दा धेरै समय लागेको र ‘अब्जरवेसन’पनि कम्तीमा एक–दुई घण्टा राख्नुपर्ने नियम रहेको कारण दोस्रो सर्जरी गर्न नसकिएको जानकारी डा मुकेशबाट प्राप्त भएको नेता कँडेलको भनाइ छ ।
नेता भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको र चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले मुटुमा असर नपर्ने बताइएको छ ।

बुधबार राति आफ्नो निवासमा खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीमा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घट्नालगत्तै उनीहरू दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत् भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us