गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डलाई संसदबाट दबाब

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १२:४१ मा प्रकाशित

काठमाण्डु,३ फागुन– गृहमन्त्री नियुक्त गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले संसदबाटै दबाब दिएका छन् ।

काठमाण्डुको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरुले मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै सांसदहरूले गृहमन्त्री नियुक्तिको दबाब दिएका छन ।

राप्रपाका प्रमुख सचेतकसमेत एवं सांसद ज्ञानेन्द्र शाहीले भने, ‘संसारका कुनै देशमा देखिने दृष्य जस्तो गोंगबुमा देखियो,’, ‘यो देशमा गृहमन्त्रालयको संयन्त्र छ ।

तर, गृहमन्त्री किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए हरु मन्त्रालय किन बनाएको ?’ उनले गृहमन्त्री तत्काल नियुक्त गर्न समेत माग गरेका छन ।’

कांग्रेसका सांसद प्रकाशशरण महत, रास्वपाका सांसद शिशिर खनाललगायतले पनि काठमाण्डुको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा उक्त घटना भएको भन्दै सांसदहरुले गृहमन्त्री नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us