एकीकृत समाजवादीले पनि राष्ट्रपतिको उम्मेदवार उठाउनसक्छ: झलनाथ खनाल

काठमाण्डु टुडे २०७९ फागुन २ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, २ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन ।

आज मंगलबार प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । नेता खनालले भने, ‘अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन् । ’

उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताएका छन । राष्ट्रपतिमा तपाईंको पनि चर्चा चलेको छ नि भन्ने जिज्ञासामा खनालले भने, ‘चर्चा गरिदिएकोमा धन्यवाद ।’

राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उनले बताएका छन । उनले भने,‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण एजेन्डा हो ।

यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,’ खनालले भने, ‘त्यसका लागि सबै पार्टीहरू राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us