जनयुद्ध को विरोध गरेपछि द्रव्यशाह बहुमुखी क्याम्पस प्रमुख कुटिए

काठमाण्डु टुडे २०७९ फागुन २ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, २ फागुन– गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि जनयुद्धको सन्दर्भमा सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर हातपात भएको छ ।

जनयुद्धको सन्दर्भमा दवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले मंगलबार बिहान उनीमाथि हातपात गरेका छन ।

इकाइ अध्यक्ष अनिष अर्याल नेतृत्वमा आएका केही युवाहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको टेबलसमेत तोडफोड गरेका छन् ।

उनले भने, ‘म एउटा द्वन्द्व पीडित, मैले सामाजिक संजालमा क्याम्पस प्रमुखको हिसाबले भन्दा पनि आफ्नो निजी विचार राखेको थिए,’ दुवाडीले भने, ‘त्यही विषयलाई लिएर उनीहरुले म माथि आक्रमण गरे ।’

इकाइ अध्यक्ष अर्यालसँग आएका अन्य युवा भने क्याम्पसका विद्यार्थी नभएको बताएका छन । दुवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिको विरोधमा अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइले सोमबार राति विज्ञप्तिसमेत जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us