
काठमाण्डु, २ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता भएको छ ।
आज (मगंलबार) प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।
भेटवार्ताको क्रममा इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो ।
आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको छ ।