
काठमाण्डु,२ फागुन– यातायात मजदुरहरुले हिजो सोमबार काठमाण्डुका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ ।
आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले बताएका छन । सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो ।
ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन ।
चालिसेका अनुसार उनको मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ ।
मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाण्डुमा एकत्रित भएका छन् ।