सभामुख घिमिरे र चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ माघ २५ गते १४:१७ मा प्रकाशित

काठमाण्डु,२५ माघ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

उक्त अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्‍याएको सहयोगको प्रशंसा गरेका छन ।

भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरेका छन ।

चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us