

काठमाण्डु, २४ माघ– टर्कीमा सोमबार आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी हालसम्म ३ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।
१४ हजारभन्दा बढी घाइते छन् । भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशंका गरिएकाले मृतक संख्या बढ्ने अनुमान अधिकारीहरुले गरेका छन् । लगातार आइरहेको पराकम्पका कारण घर तथा सरकारी भवनभित्र पुरिएका मानिसको खोजीकार्यमा कठिनार्इ उत्पन्न भएको छ । टर्कीका १० ठूला सहरमा भूकम्पले क्षति गरेको छ ।
भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा समेत क्षति पुर्याएको समाचार संस्था एपीले जनाएको छ । टर्कीपछि सिरियामा भने ठूलो धनजनको क्षति भएको छ । सोमबार बिहान बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिकै दक्षिणी टर्कीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।