
काठमाण्डु, २० माघ– नयाँ गृहमन्त्रीबारे निर्णय लिन सरकार नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।
बैठक पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा अपराह्न ३ बजे बस्ने नेताहरुले बताएका छन् । अदालतको आदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पदमुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री आफैंसँग राख्ने तयारी गरेका छन् ।
अर्थ, गृह, परराष्ट्रजस्ता मन्त्रालय अन्य दललाई दिइएकाले प्रधानमन्त्री कमजोर भएको भन्दै गृह नछाड्न प्रचण्डमाथि पार्टीभित्रबाट दबाब छ । पदमुक्त भएपछि लामिछानेले दुईपटक भेटेर प्रचण्डलाई आफूलाई गृहमन्त्रालय दिन दबाब दिएका थिए ।
तर, प्रचण्डले नागरिकता विवादमा अदालतले हालै मात्र फैसला गरेको र दोहोरो राहदानीको विषय टुंगो नलागेकाले गृहमन्त्रालय दिन नसकिने जवाफ दिएका छन् । एमाले अध्यक्ष केपी ओलीले पनि लामिछानेलाई गृह दिन प्रधानमन्त्रीमाथि दबाब बढाएका छन् ।
गृह नपाए सरकार छाड्ने चेतावनी दिएको रास्वपाले बिहीबार दुई दिन पर्खने निर्णय गरेको थियो । त्यसअघि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग टेलिफोन संवाद गरेका थिए ।