
काठमाण्डु, १७ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुन उम्मेदवार भए हराएर पठाउने चितवन कांग्रेसले बताएको छ ।
कांग्रेसका चितवन सभापति राजेश्वर खनालले चितवन–२ मा हुने उपनिर्वाचनमा रवि उम्मेदवार भए कांग्रेसका लागि झनै सहज हुने बताएका छन । उनले भने, ‘३२ दिनमा गृहमन्त्री हुँदा उहाँले के गर्नुभयो । चितवनका मतदाताले बुझिसकें ’ ।
नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसकेको उनले बताएका छन । नयाँ दल र रविको तरंगले मतदाता भ्रममा परेपनि उपनिर्वाचनमा उक्त भ्रम तोडिने खनालले बताएका छन ।
कांग्रेस निकट चितवन–काठमाण्डु सम्पर्क समितिले गरेको पत्रकारसँगको भेटघाटमा उनले यस्तो बताएका हुन । उनले भने, ‘गठबन्धन गरे जितिहालिन्छ नि भन्ने कांग्रेसलाई भयो । कार्यकर्तामा हार्मोनी पनि हुन सकेन ।’
सभापति शेरबहादुर देउवालाई भेटेर चितवन–२ को उप निर्वाचनका बारेमा दुई दिन अघि छलफल गरेको उनले बताएका छन । उम्मेदवारको आकांक्षी आफू रहेपनि जिल्ला सभापति भएको हुँदा अघि सरेर दाबी गर्न नमिल्ने खनालले बताएका छन ।
जुनसुकै व्यक्तिलाई टिकट दिएपनि पार्टीका आन्तरिक संरचनामा प्रतिस्पर्धा गरेकालाई उम्मेदवार बनाउन सभापतिलाई सुझाव दिएको उनले बताएका छन ।
४ मंसिरमा भएको निर्वाचनमा चितवन–२ बाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ कांग्रेसबाट उम्मेदवार भएका थिए । श्रेष्ठले स्थानीय तहमा हुने पार्टी भित्रको अधिवेशनमा निर्वाचित हुँदै आएका थिएनन् ।
कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठलाई भौगोलिक अवस्था र कार्यकर्ता चिनाउनु पर्ने समस्या समेत पार्टीलाई उनले बताएका छन । ‘बाटो र कार्यकर्ता चिनाउँदा चिनाउँदै मतदाता चिनाउन भ्याइएन,’ खनालले भने ।
४ मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले कांग्रेसका उम्मेदवार श्रेष्ठलाई फराकिलो मतान्तरले हराएका थिए । लामिछानेले ४९ हजार ३०० मत प्राप्त गर्दा श्रेष्ठले १४ हजार ९८८ र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
नागरीता बिबाद भएपछि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ मा पुन निर्वाचन हुने भएको छ ।