
काठमाण्डु,१५ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि छलफल गर्ने बताएका छन ।
मुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध सुरु भएको थियो ।
त्यसपछि प्रचण्डले उक्त वर्गीकरणप्रति चासो व्यक्त गर्दै छलफल गर्न लागेका हुन् । सूचना वर्गीकरणका विषयमा व्यक्त भएका चासोका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ’ ।
आज (आइतबार) कांग्रेसका नेता डा. शेखर काइरालाले संविधानले ग्यारेन्टी गरेको ‘सूचनाको हक’ लोकतन्त्र, नागरिक शसक्तीकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हक भएको भन्दै त्यसलाई कमजोर बनाउने गरी सूचना वर्गीकरण गरिएको भन्दै सामाजिक सञ्जालबाटै आलोचना गरेका थिए ।