सत्ता समीकरणमा फेरबदल ल्याउन रविलाई मुद्दा हालियो: शंकर पोखरेल

काठमाण्डु टुडे २०७९ माघ १५ गते १६:२४ मा प्रकाशित

काठमाण्डु,१५ माघ– एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेको नागरिकता विवाद उछालेर सत्ता समीकरणमा फेरबदल ल्याउने प्रयास भएको बताएका छन ।

तर अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नले राजनीतिक मिसन नबिथोलिने उनको दाबी छ । आज आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन ।

उनले पीआर लिएर विदेशमा बसेकाहरु फर्केर आउँदा स्वतः नेपाली भएको भन्दै उनले प्रश्न गरे, ‘पीआर लिएका व्यक्तिहरुले पीआर परित्याग गरेको घोषणा गरेर त्यसपछि फेरि नयाँ प्रक्रियाबाट नागरिकता प्राप्त गरेको सुन्नुभएको छ ? कसैले प्रश्न उठाएको छ र ?’ उनले रविको हकमा मात्र यसलाई उछालिएको बताएका छन ।

‘यो विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइएको पनि उनले बताएका छन ।

तर यसले उनीहरुले सोचेजस्तो काम गर्दैन’ महासचिव पोखरेलले भने, ‘किनकी राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले विथोलिने होइन ।’

उनले रविको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक रहेको टिप्पणी पनि गरेका छन । अदालतमा कतिपय मुद्दाहरुको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरुको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताएका छन ।

उनले भने,‘कतिपय प्रश्नहरु उस्तै प्रकृतिका विषयहरु न्यायिक निरुपणका लागि प्रस्तुत हुँदाखेरि सर्वोच्च अदालत अत्यन्त उदासिन देखिने । प्रक्रिया नै अगाडि नबढ्ने । दर्जनौँ विषयहरु पेन्डिङमा रहनुपर्ने ।

कतिपय विषयहरु फटाफट निर्णय हुने’ । प्रधानन्यायाधीशको महाअभियोग प्रकरणमा संघीय संसदका महासचिवले लेखेको पत्रको जवाफ दिनपनि सर्वोच्च अदालतले अस्वाभाविक सक्रियता देखाएको उनले बताएका छन ।

पोखरेलले भने, ‘रवि लामिछानेजीका सन्दर्भका बारेमा मुद्दा दर्ता गर्ने पक्षको नियत पनि बुझ्न सकिन्छ । न्यायिक सक्रियता पनि चमत्कारिक छ ।’

सर्वोच्च अदालतले शुक्रबार रविले अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको ठहर गर्दै उनको सांसद पद खारेज गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us