
काठमाण्डु,१५ माघ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले विद्यालय तहको सिकाइ उपलब्धी अत्यन्तै कमजोर भएको बताएका छन ।
तुलनात्मक रुपमा पछिल्लो समय विद्यालय तहमा पढाइ छोड्ने विद्यार्थीको संख्या कम भएपनि सिकाइसहित कक्षा चढेको तथ्यांक नभएको उनले बताएका छन ।
उनले भने ‘विद्यालय तहमा सिकाइ उपलब्धी अत्यन्तै दयनीय छ । विद्यार्थी कक्षा मात्रै चढेका छन् तर सिकाइसहित कक्षा चढेको तथ्यांक छैन ।
आज (आइतबार) शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) को आठौं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन । मन्त्री खनालले विद्यालय तहमा सिकाइ कमजोर भएकोले उच्च शिक्षामा पनि त्यसको प्रभाव देखिन थालेको बताएका छन ।
उनले भने, ‘विद्यालय तहमा सिकाइ उपलब्धी कमजोर थियो नै झन् कोभिड पछाडिको अवस्था दयनीय छ । त्यसको प्रभाव उच्च शिक्षामा पनि गुणस्तर घटेको देखिन्छ ।’
पछिल्लो २० वर्षयता शिक्षा क्षेत्रमा काम गर्ने निकायहरु, सरोकारवालाहरुले सबैको पहुँचमा शिक्षा पु¥याउनको लागि काम गरेको र एक हदसम्म सफल भएको पनि भएको र अब भने गुणस्तरीय शिक्षा वितरणको लागि काम गर्नुपर्ने उनले बताएका छन ।
मन्त्री खनालले अहिले सामान्य सुधारका लागि कामहरु भइरहेको पनि बताएका छन । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी), समकक्षता प्रमाणपत्र अनलाइनमार्फत दिनको लागि अध्ययन सुरु भएको, शिक्षकहरुलाई मासिक रुपमा तलब दिन, समयमा पाठ्यपुस्तक पुर्याउन अपनाउनुपर्ने प्रक्रियाकाको विषयमा काम भइरहेको उनले बताएका छन ।