
काठमाण्डु,१५ माघ– ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना भेटिएको छ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको छ ।
प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । सो कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको बताइएको छ ।
विशेष सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एक जना सञ्चालक र दुई जना विक्रेता भएको प्रहरीले जनाएको छ । नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ ।