
काठमाण्डु, १५ माघ– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले तत्काल राष्ट्रपति निर्वाचन मिति तोक्न माग गरेका छन् ।
खड्काले २८ माघअघि नै राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् । आयोगले निर्वाचन मिति घोषणा गरेर संवैधानिक संस्थाको गरिमा कायम गर्न र हाल देखिएको संसय मेटाउन जरुरी रहेको उनको भनाइ छ ।
‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ । यसतर्फ बेलैमा ध्यान जाओस्’, आइतबार ट्वीट गर्दै खड्काले भनेका छन् । केही दिनअघि बसेको काँग्रेस पदाधिकारी बेठकले राष्ट्रपति निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको थियो ।
काँग्रेसले प्रमुख पदहरुमा भागबण्डा हुनुपर्ने दाबी गरेको छ । गत २६ पुसमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेसले माओवादीलाई राष्ट्रपति आफूलाई दिन दबाब दिँदै आएको छ । एमालेले भने प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने बेलामै राष्ट्रपति आफूले पाउने सहमति भएको बताउँदै आएको छ ।