एकीकृत समाजवादी प्रवेश गर्न वामदेवको चार सर्त

काठमाण्डु टुडे २०७९ माघ १४ गते १२:०५ मा प्रकाशित

काठमाण्डु ,१४ माघ- वामदेव गौतमले पार्टी प्रवेश गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग चार सर्त राखेका छन् ।

घनश्याम भूसाललाई पार्टी प्रवेश गराएसगै अध्यक्ष नेपालले गौतमसँग पनि कुरा गरेका थिए । अब अलग्गै नबस्नुहोस्, एउटै पार्टीमा बसेर बाँकी कुरा गरौंला भन्नुभएको छ,’ एकीकृत समाजवादीका एक नेताले भने । तर गौतमले भने अलग्गै पार्टीको नेतृत्व गरिरहेकाले थप छलफल नगरी पार्टी प्रवेश नगर्ने बताएका छन् ।

गौतमको नेपाल सँगको सर्तमा तीन वटा सैद्धान्तिक विषय छन् ।पहिलो, जनताको बहुदलीय जनवाद  लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, एमालेले पाँचौं महाधिवेशनपछि जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ ।

तर एकीकृत समाजवादीका नेताहरुले भने अब मार्क्सवाद-लेनिनवाद मात्रै मार्गदर्शक सिद्धान्त हुने बताउने गरेका छन् ।गौतमको दोस्रो सर्त हो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री । समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने गौतमको तेस्रो सर्त छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजनपछि कुनै समूहमा नलागेका गौतमले नेकपा एकता राष्ट्रिय अभियान बनाएका छन् । गत ४ मंसिरको चुनाव अगाडि भने गौतमले नेकपा माओवादी केन्द्रमा मिसिन खोजेका थिए ।

उनले माओवादी केन्द्रकै चिह्नबाट चुनाव लड्ने निर्णय गरे पनि गौतमले टिकट पाएनन् । आफूले टिकट नपाएपछि गौतम अहिले फेरि एकीकृत समाजवादीसँग सर्त राखेर पार्टी प्रवेशको तयारी गरेका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us