प्रेमप्रसादको आत्मदाहले मनमा अनेक कुरा खेलिरहेका छन्ः गगन थापा

काठमाण्डु टुडे २०७९ माघ १२ गते ८:३९ मा प्रकाशित

काठमाण्डु, १२ माघ– कांग्रेस महामन्त्री गगनकुमार थापाले इलाका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनालाई राज्य संयन्त्र र प्रणालीको असफलताको संज्ञा दिएका छन् ।

आचार्यको मृत्यु राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरुको असफलता भएको थापाले बताए । बुधबार साँझ सामाजिक सञ्जालमा पोष्ट गर्दै थापाले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको उल्लेख गरे ।

कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र सिस्टम ठीक नहुने भन्दै उनले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन सिस्टमको मर्मत गर्ने अठोट चाहिएको उल्लेख गरे ।

उक्त प्रकरणलाई लिएर आरोप/प्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा आचार्यले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भने मात्र यस्तो निराशा र विस्मय कोही नागरिकले भोग्नु नपर्ने थापाको भनाइ थियो ।

प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले दिनभर मनमा अनेकन कुरा खेलिरहेको भन्दै महामन्त्री थापाले उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले आफूलाई पटकपटक घोचिरहेको बताए ।

‘यसो सोच्छु, उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि ? फेरि सोच्छु, यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिष्टम चलाउनेको असफलता हो’, उनले भनेका छन्, ‘कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठीक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ । अब आरोप/प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us