होटलको झुटो बिल बनाएर भुक्तानी गर्ने नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु टुडे २०७९ माघ ११ गते १८:१४ मा प्रकाशित

काठमाण्डु, ११ माघ- होटलको झुटो बिल बनाएर भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। बुढाले होटल सञ्चचालकसँग खाली बिल मागेर कीर्ते बिल भरपाई तयार गरी दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएको अख्तियारले बताएको छ ।

यस्तै अख्तियारले न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजाली विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । रामजाली ले खाली बिलहरुमा छाप लगाई पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत बुढालाई दिएको र उनीबाट २ लाख ६२ हजार ५०२ भुक्तानी पनि लिएको अख्तियारले बताएको छ ।

अधिकृत बुढाले होटलमा कार्यक्रम गरेको भनिएपनि बिलमा उल्लेख भएको मिति र कार्यक्रममा उपस्थित मानिसको संख्या फरक परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

एता पञ्चपुरी नगरपालिकाका अधिकृत छैटौं लालबहादुर सुवेदी र तुलसी केसीले लेखा झुटा बिल भर्पाइ बनाएर लेखा अधिकृत बुढालाई रकम भुक्तानी गर्न सहयोग गरेको भन्दै भ्रष्टाचार मुद्दामा मतियार भनी मुद्दा दर्ता गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us