बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न निषेध

काठमाण्डु टुडे २०७९ माघ ११ गते ८:५० मा प्रकाशित

काठमाण्डु, ११ माघ– प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी सवारी साधनबाहेकमा पेट्रोलियम पदार्थ बिक्री नगर्न निर्देशन दिएको हो । खुलारूपमा पेट्रोलियम पदार्थ बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोलियम पदार्थ नबेच्न सूचनामा भनिएको छ ।

आगामी दिनमा त्यसरी पेट्रोलियम पदार्थ बिक्री गरेको पाइए कानुनअनुसार कारबाही गरिने प्रहरीको भनाइ छ । मंगलबार संघीय संसद् भवन नयाँबानेश्वर बाहिर एक युवाले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।

केही महिनाअघि एक बलात्कार पीडित युवतीले राष्ट्रपतिभवन शीतलनिवास अगाडि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us