
काठमाण्डु, २३ पुस- नेपाली काँग्रेसका नेता एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिने बतायका छन।
शनिवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्त्वपूर्ण पदलाई प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने ठोकुवा गरे ।
राष्ट्रपति र सभामुख पाउन ओलीजीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभएको हो’, ‘अब एमालेले विश्वासको मत पनि दिन्छ तर आफ्नो स्वार्थ पूरा भएपछि प्रचण्डलाई धोका दिन्छ ।’ उपाध्यायले भने। उपाध्यायले प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा शंका समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै उपाध्यायले भने, चरम “कू“ राजनीति मौलाउँदै गयको दलहरुभित्र भागवण्डा, गुटबन्दी र नैतिक मुल्य मान्यतामा ह्रास हुँदै गएकाले विरक्त भएर आफू सक्रिय राजनीतिबाट बिश्राम लिएको समेत उनले बताए।
उनले देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरू सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनीति भन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गरेको आरोप लगाए ।
उपाध्यायले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेण्डा राजतन्त्र फाल्नु पर्ने भए पनि पछि विदेशी शक्तिहरूले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको बताए ।
उनले राजनीतिक दलहरूको दूरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरूले चलखेल गरेको बताउँदै यस्तै अवस्था रहिरहे देश ठुलो सङ्कटमा फस्ने ठोकुवा गरे ।