
काठमाण्डु,२२ पुस– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पक्षका वकिलहरूले लामिछाने सांसद हुँदा निवेदकलाई कुनै अपूरणीय क्षति नहुने बताएका छन ।
नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा लामिछानेको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले रवि सांसद हुँदा निवेदकलाई अपूरणीय क्षति नहुने बताएका छन ।
वरिष्ठ अधिवक्ता पन्तले लामिछाने अमेरिकाको नागरिकता लिएको कुरा गृह र अध्यागमनलाई थाहा भएको उल्लेख गर्दै सोही आधारमा गृह मन्त्रालयले प्रेस काउन्सिललाई ०७५ असार ६ मा पत्र लेखेको पत्रले पुष्टि गर्ने बताएका छन ।
१५७६ पत्राअनुसार यसबारे जानकारी गराइएको उल्लेख गर्दै उनले नागरिकता पुनः कायम गर्नुपरेमा साबिकको विवरण दिनुपर्ने व्यवस्था रहेको पनि बताएका छन । अध्यागमनलाई विदेशी नागरिकता त्यागेकोसम्बन्धी निस्सासमेत रविले अध्यागमनमा बुझाएको जिकिर गर्दै उनले रविले नयाँ नागरिकता लिन प्रक्रिया सुरु नै गर्न नपर्ने जिकिर गरे ।
यस्तै न्यायाधीश ईश्वर खतिवडाले ‘नयाँ जारी गर्न पर्छ कि पर्दैन’ भनेर सोधेको प्रश्नमा उनले विदेशी देशको नागरिकता त्यागेको निस्सा ल्याएपछि पुरानो पुनः कायम रहने बताएका छन। पन्तले भने,‘नेपालबाट पहिला त्यागिएको होइन, उता गएर त्यत्तिकै नागरिकता लिएको हो । विदेशी देशको नागरिकता त्यागेको निस्सा ल्याएपछि त्यो पुनः कायम हुन्छ ।’