
काठमाण्डु, २२ पुस– हिन्दू नेपाली महिलाहरुले आजदेखि स्वस्थानी ब्रतकथा माधव नारायणको पूजा आराधना सुरु भएको छ ।
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिनदेखि स्वस्थानी ब्रतकथा प्रारम्भ हुने गर्छ । आजदेखि माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । आजदेखि एक महिनासम्म स्वस्थानीको ब्रत बस्दा र कथा श्रबण गर्दा मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास रही आएको छ ।
सत्य युगमा भगवान विष्णुको सल्लाहअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको जनविश्वास गरिन्छ ।
ब्रतालुले हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिे गर्दछन् । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रतकथा सुन्ने र सुनाउने परम्परा छ ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देशको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । स्वस्थानीको लाबण्ड देश हालको साँखु क्षेत्रलाई मानिन्छ । साँखुस्थित शालीनदीमा स्वस्थानीको विशेष मेला लाग्ने गर्दछ ।
माघ महिनामा शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरे पाप यस नुजीमा गरेको नाश भई अर्को जुनीमा समेत पुण्ड प्राप्त हुने विश्वास छ । शालीदनीमा एक महिनासम्म स्वस्थानी महोत्सव आयोजना गरिएको छ । शाली नदीसहित पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ ।
स्वस्थानी पूजामा सेलरोटी १०८, सुपारी १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउनु पर्दछ । ब्रतपछि अघ्र्य दिई सबै १०८ मध्ये आठ रोटी, आठ अक्षता, आठ पान, आठ कुड्का सुपारी र सगुन सहित श्रीमानलाई दिनु, श्रीमान नभए छोरालाई दिनु, छोरा पनि नभए मित छोरालाई दिनु, मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदीमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भनी स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।
साँखु शालीनदी मेला
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ ।
‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गरेका छन् ।