
काठमाण्डु, २२ पुस– सर्वोच्च अदालतले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको दोहोरो नागरिकता र राहदानीबारे सुनुवाई गर्दैछ ।
सर्वोच्चको संवैधानिक इजलासमा आज लामिछानेविरुद्ध परेको मुद्दामा सुनुवाई हुन लागेको हो । लामिछानेले एकै समयमा अमेरिकी र नेपाली पासपोर्ट प्रयोग गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । प्रहरीले अमेरिकी नागरिकता कायमै राखेर नेपाली राहदानी लिएको विषयमा प्रहरीले छानबिन गरिरहेको थियो ।
आफूमाथि छानबिन गरिरहेकै निकायको नेतृत्व गर्ने गरी विभागीय मन्त्री नियुक्त भएकामा लामिछानेको आलोचना हुँदै आएको छ । झुठा विवरण पेस गरी नागरिकता र राहदानी लिइएमा त्यो फौजदारी अभियोग ठहर हुने कानूनमा उल्लेख छ ।
राहदानी ऐन–२०७६ को दफा २१ (क) मा झुठा विवरणका आधारमा राहदानी लिइएको अवस्थामा दुईदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद तथा दुवै सजाय हुने व्यवस्था छ । यदि अमेरिकी नागरिकता कायमै रहेका बेला नेपाली राहदानी लिएको प्रमाणित भए लामिछानेमाथि जरिवाना र कैद सजाय हुन सक्छ ।
गत ४ मंसिरको निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने ११ पुसमा उपप्रधान र गृहमन्त्री नियुक्त भएका थिए । संवैधानिक इजलासबाट लामिछानेसँग दोहोरो पासपोर्ट रहेको ठहर भए उनको सांसद र मन्त्री पदसमेत जानेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेको पार्टी अध्यक्ष पद पनि गुम्नेछ ।