
काठमाण्डु, २२ पुस– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रविरोधी शक्ति राप्रपासँग घाँटी जोड्दा व्यवस्था नै खतरामा पर्न सक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचेत गराएका छन् ।
प्रतिनिधिसभामा १४ सांसद् रहेको राप्रपाले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको थियो । प्रधानमन्त्रीले २६ पुसमा पद तथा गोपनियताको सपथ लिँदैछन् । तर, राप्रपाले विश्वासको मत दिन र सरकारमा सहभागी हुन २७ पुसमा पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने सर्त अघि सारेको छ ।
भट्टराईले गठबन्धन गर्दा लक्ष्मणरेखा पालना नगरिए ठूलो दिर्घकालीन क्षति हुनसक्ने बताए । ‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुन सक्छ,’ ट्वीटमार्फत भट्टराईले भनेका छन्, ‘सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ ।’
राप्रपाले राजसंस्था पुनस्र्थापना आफ्नो प्रमुख राजनीतिक लक्ष्य बताउँदै आएको छ । भट्टराईले २०५१ पछि कांग्रेस र एमालेले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सन पनि भनेका छ्न ।