चलचित्र जय हो’को छायांकन पोखरा र मुस्ताङमा गरिने

काठमाण्डु टुडे २०७९ पुष १९ गते १७:०९ मा प्रकाशित


काठमाण्डु ,१९ पुस-नेपाली चलचित्र जय हो’को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको छ ।

अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने सिनेमा नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखरा र मुस्ताङमा छायांकन गर्न लागीयको हो। सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेतले पोखरा र मुस्ताङको भ्रमण गर्दै छायांकन लोकेशन फाइनल गरेका हुन् ।

सिनेमाको मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत छायांकन गरिने बतायको छ। संसारलाई नेपालको सुन्दरता देखाउनका लागि सिनेमाको छायांकन पोखरा र मुस्ताङमा गर्न लागेको प्रस्तुतकर्ता बस्नेतले बताएका छन ।

उनले भने हाम्रो उद्देश्य सिनेमा निर्माण मात्र होइन, देशलाई संसारमा चिनाउनु पनि हो । पोखरा र मुस्ताङ सुन्दरताका खानी हुन् र यी स्थानको प्रवद्र्धन गर्नु हाम्रो जिम्मेवारी हो । कथाले पनि सुन्दर लोकेशन नै खोजेकाले हामीले पोखरा र मुस्ताङ रोजेका हौं’।

सुरेश न्यौपानेको कथा रहेको सिनेमामा जय हो मा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ । एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको सिनेमामा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहनेछ ।

आगामी माघ अन्तिम सातादेखि सिनेमाको छायांकन सुरु गर्ने तयारी निर्माण टिमको छ । विवाहपछि छायांकनमा फर्किन लागेका सलोन ‘जय हो’लाई लिएर उत्साहित छन् । सिनेमा राम्रो बन्ने विश्वास उनको छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जय हो’मा राज के अधिकारी र सुरज सरकार निर्मातामा छन् ।  सिनेमामा राम्जी राउत क्रियटिभ निर्देशकमा रहनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us