
काठमाण्डु, १६ पुस– कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले काँग्रेस–माओवादी गठबन्धनले निरन्तरता नपाउनुमा काँग्रेस नेतृत्वको असावधानी, कमजोरी र गल्ती भएको बताएका छन् ।
महामन्त्रीद्वयले उक्त गल्तीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र प्रष्ट गर्नुपर्ने बताए । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले अहिलेको परिस्थितिको गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै अबको बाटो तय गरिने बताए ।
उनीहरले विज्ञप्तिमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्ष बन्न पुग्दा पार्टीमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु स्वभाविक भएको उल्लेख गरेका छन् । ‘पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने ।
दोस्रो, यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने । नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममुल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ, विज्ञप्तिमा भनिएको छ । थापा र शर्माले कांग्रेसले जिम्मेवार प्रतिपक्षका रूपमा सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
अहिलेको परिस्थितिलाई संकटको रूपमा लिने छुट नभएको बताउँदै उनीहरुले पार्टीको शुद्धीकरण र पुनर्जागरणको अवसरमा बदल्ने गरी प्रस्तुत गर्नुपर्ने बताए । जनताको मतबाट पहिलो पार्टी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दा केवल सत्ता राजनीतिमा मात्र यो पटक पछि परेको थापा र शर्माको निष्कर्ष छ ।
अब कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने र जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनीहरुको भनाइ छ । कांग्रेस अलमलमा हुँदासम्म जनताको विश्वास फर्काउन नसकिने भन्दै उनीहरुले अहिलेको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताए ।
त्यसका लागि अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउने, विधान अनुसार पार्टीका सबै संरचना र भातृ तथा सुभेच्छुक संस्थालाई पूर्णता दिने, पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम संचालन गर्ने, नीति महाधिवेशनबाट पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम गर्ने थापा र शर्माले बताएका छन् ।